भाटभटेनी प्रकरणमा यादवको चुनौती : तस्वीर सार्वजनिक गर्नुस्, नत्र अदालतमा भेटौंला
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १४ गते । जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रतिनिधिसभामा भाटभटेनी लुटपाट काण्डमा संलग्न सहमहामन्त्रीको छोराको तस्वीर सार्वजनिक गर्न चुनौती दिएका छन्। यादवले भने, "चैत १५ गतेको घटनामा कुन सहमहामन्त्रीको छोरा संलग्न थियो, तस्वीर देखाउनुस्, होइन भने हामी अदालत जानेछौं।" गत शुक्रबार लिङ्देनले प्रतिनिधिसभामा कांग्रेसका सहमहामन्त्रीका छोरालाई पक्राउ गरिएको र गृहमन्त्रीको आदेशमा छुटाइएको दावी गरेपछि केही मिडियाले महेन्द्र यादवका छोरा मुकेश यादव पक्राउ परेको खबर लेखेका थिए। तर, यादवले आफूका दुई सन्तान डा. आकाश यादव र डा. विकास यादव मात्रै रहेको भन्दै सो खबरलाई अस्वीकार गरे र चरित्र हत्या गरिएको भन्दै लिङ्देनविरुद्ध अदालत जाने चेतावनी दिए।
यादवले लिङ्देनमाथि प्रतिनिधिसभामा गलत सूचना दिएर संसद र जनतालाई भ्रमित गर्ने प्रयास गरेको आरोप लगाए। उनले राप्रपाले दुनियाँमा कतै नरहेको आदर्श र एजेण्डा लिएर जनतालाई झुक्याउन खोजेको टिप्पणी गरे। यादवले मृत राजतन्त्र कहिल्यै फर्केर नआउने बताउँदै गणतन्त्रात्मक व्यवस्थालाई स्वीकार गरेर अघि बढ्न आग्रह गरे। लिङ्देनको अभिव्यक्तिको विरोधस्वरूप नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ। यसअघि धनुषामा कांग्रेस कार्यकर्ताले सडक अवरोध गर्दै लिङ्देनको पुतला जलाएका थिए।
कमेन्ट गर्नुहोस्
view comments