"जानकी नवमीमा राष्ट्रिय बिदाको माग, धार्मिक संघले सरकारलाई ज्ञापन"
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ७ गते । रामानन्दीय वैष्णव संघले आगामी वैशाख २३ गते पर्ने जानकी नवमीका अवसरमा राष्ट्रिय बिदा दिन माग गरेको छ। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले जानकी नवमीलाई राष्ट्रिय गौरवको पर्व घोषणा गरी सार्वजनिक बिदा दिन आग्रह गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र बुझाएका हुन्। हालसम्म प्रदेश सरकारले मात्रै सो अवसरमा बिदा दिने परिपाटी रहेको भए पनि सीता (जानकी) लाई सम्पूर्ण नेपालीको आस्था र राष्ट्रिय पहिचानसँग जोडिएको ऐतिहासिक पात्र भएको भन्दै संघले यसलाई राष्ट्रिय तहको पर्वका रूपमा मान्यता दिनुपर्ने बताएको छ।
महन्थ दासका अनुसार जानकी नवमीलाई नौ दिनसम्म विभिन्न धार्मिक गतिविधिका साथ भव्य रूपमा मनाउने तयारी गरिएको छ। पहिलो दिन दूधमती नदीमा शाही स्नानसँगै रामायण पाठ र रामकथा आरम्भ हुनेछ, जसमा धार्मिक गुरुहरूले राम र सीताको जीवन र शिक्षाबारे प्रवचन दिनेछन्। मुख्य दिन जन्म आरती, सन्ध्या आरती, दीप प्रज्वलन र गोष्ठी कार्यक्रमको आयोजना गरिनेछ। संघले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वलाई पर्यटकीय आकर्षणको रूपमा विकास गर्न राष्ट्रिय बिदा अत्यावश्यक भएको तर्कसमेत गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments