"सप्तरीमा योजनाका चिठ्ठी बिक्रीको आरोपमा शिक्षा विकास कार्यालयमा तालाबन्दी"
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ७ गते । सप्तरीको शिक्षा विकास कार्यालयमा आइतबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले तालाबन्दी गरेका छन्। उनीहरूले मधेश प्रदेश सरकारबाट जिल्लास्तरीय विद्यालयको शिक्षा तथा भौतिक पूर्वाधार विकासका लागि पठाइएका योजनाका चिठ्ठीहरू सम्बन्धित वडा कार्यालयमा नपुगेको आरोप लगाएका छन्। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारूका अनुसार, अधिकांश योजनाका चिठ्ठीहरू प्रदेश राजधानी जनकपुरमै कमिसनसहित बिक्री भएको सूचना पाएपछि तालाबन्दी गर्नुपरेको हो। उनले बाँकी रहेका योजनाका चिठ्ठीहरू पनि व्यक्ति विशेषमार्फत बिक्री भइरहेको दाबी गरे।
थारू कल्याणकारिणी सभाका जिल्ला सचिव मिलन लेखीले विद्यालयजस्तो संवेदनशील क्षेत्रमा पनि राजनीतिक हस्तक्षेपले शिक्षाको स्तर खस्किएको आरोप लगाए। उनले दलहरूको गैरजिम्मेवारीपनकै कारण योजनाको समयमै कार्यान्वयन नभएको र बजेटको दुरुपयोग हुने खतरा बढेको बताए। यसअघि चैत २९ गते पनि जनमत पार्टीका नेता महेशप्रसाद यादवको अगुवाइमा समाज कल्याण मन्त्रालयका योजनाहरू कमिसनसहित जनकपुरमै बिक्री गरिएको आरोपमा सामाजिक विकास एकाइ कार्यालयमा तालाबन्दी गरिएको थियो। यादवले योजनाको वितरण सम्बन्धित कार्यालयमार्फत पारदर्शी रूपमा हुनुपर्ने माग गर्दै, योजनाको नाममा सांसदहरूलाई दोषी देखाउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments