बिग्ही नदीमा झोलुङ्गे पुल निर्माण, कृषकहरूमा खुसीयाली

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ३ गते । महोत्तरीको मटिहानी नगरपालिकाको बिग्ही नदीमा झोलुङ्गे पुल निर्माणपछि स्थानीय कृषकहरूमा उत्साह छाएको छ। कृषि उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउने उद्देश्यले बनाइएको यो पुल बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

मटिहानी नगरपालिका–८ मा पर्ने बिग्ही नदीमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका जोड्ने गरी निर्माण गरिएको पुलले दुबै क्षेत्रका कृषकहरूलाई लाभ पुर्‍याउनेछ। नगर प्रमुख हरिप्रसाद मण्डलका अनुसार झोलुङ्गे पुल सञ्चालनमा आएपछि किसानहरूलाई उत्पादन ढुवानी गर्न सजिलो हुने भएको छ।

पुल भएको क्षेत्र तरकारी उत्पादनका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छ। नगर प्रमुख मण्डलले झोलुङ्गे पुलले मटिहानी बजारसम्म किसानहरूको तरकारी र अन्य उत्पादन कम समयमा पुर्‍याउन सहयोग पुर्‍याउने बताउनुभयो। पैदल, साइकल, मोटरसाइकल र टेम्पु जस्ता सवारी साधन प्रयोग गरेर उत्पादन ल्याउन सकिने भएकाले लागत र समय दुवैको बचत हुने उहाँको भनाइ छ।

करिब ४८ मिटर लम्बाइ र १.५ मिटर चौडाइ भएको यो पुल मटिहानी नगरपालिका र संघीय सरकारको साझेदारीमा निर्माण गरिएको हो, जसको लागत ७५ लाख १२ हजार रुपैयाँ रहेको छ। उद्घाटन समारोहमा उपप्रमुख मन्जुदेवी साह, वडा अध्यक्षहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?