सिराहामा आनन्दीदेवीको मृत्यु प्रकरण : गृहमन्त्रीको निर्देशनमा अनुसन्धान तीव्र
17 दिन पहिले प्रकाशित

17 दिन पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ३ गते । सिराहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको रहस्यमय मृत्यु प्रकरणमा गृहमन्त्री रमेश लेखकले गम्भीर चासो व्यक्त गर्दै प्रहरी प्रशासनलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको छ। करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी मङ्गलबार आफ्नै घरमा मृत फेला परेकी थिइन्।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई फोनमार्फत घटनाबारे तत्काल निष्पक्ष र विस्तृत अनुसन्धान गर्न निर्देशन दिनुभएको हो। मृतक आनन्दीदेवीले गत पुस ९ गते दिदीलाई भेट्न जाँदै गर्दा स्थानीय सञ्जीवकुमार यादव (२२) र श्यामसुन्दर यादव (३२) बाट यौन दुर्व्यवहारमा परेकी थिइन्। सो घटनाका आधारमा जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता भएको भए पनि दुवै आरोपी फरार छन्।
जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माका अनुसार घटना आफू जिल्लामा आउनु अघि भएको भए पनि अनुसन्धान सुक्ष्म ढङ्गले अगाडि बढाइएको छ। उनका अनुसार फरार आरोपीहरू भारतमा लुकेका कारण खोजतलासमा चुनौती भएको भए पनि प्रहरी टोली निरन्तर लागिपरेको छ। पीडितको मेडिकल परीक्षण, अदालतबाट पक्राउ पुर्जी जारी लगायत प्रक्रिया सोही समयमै गरिएको शर्माले बताए।
अनुसन्धानको क्रममा शर्माले घटनास्थलमै पुगेर मृतक परिवारलाई भेटेका छन्। उनका अनुसार आनन्दीदेवी विगत एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् र दुई वर्षीया छोरीको अभिभावक थिइन्। मङ्गलबार माइतीमा कोही नभएको बेला उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ भने जिल्ला प्रहरी कार्यालयले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments