ढल्केबर ग्रिडमा आगलागी, तीन जिल्ला प्रभावित

23 दिन पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ३ गते । धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनस्थित ग्रिडमा बुधबार बिहान आगलागी भएपछि धनुषासहित तीन जिल्लामा विद्युत् आपूर्ति प्रभावित भएको छ। आगलागीको कारण केही क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्।

नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवले ढल्केबर ग्रिडबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी भएको जानकारी दिनुभयो। आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाहीका केही क्षेत्रहरूमा विद्युत् आपूर्ति रोकिएको उहाँले बताउनुभयो।

प्रमुख यादवका अनुसार १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आइसकेको छ भने ३३ केभी लाइन भने अझै अवरुद्ध छ। आगलागीबाट पार्टपुर्जाहरू जलेर क्षति पुगेको र नयाँ ट्रान्सफर्मर जडानको कार्य अघि बढाइएको जानकारी दिइएको छ। जडान कार्य सम्पन्न भएसँगै प्रभावित लाइन पुनः सञ्चालनमा ल्याइनेछ।

उहाँले दुई ट्रान्सफर्मर सञ्चालनमा आएपछि कुल विद्युत् आपूर्तिको झन्डै ७० प्रतिशत सेवा पुनः बहाल हुने आश्वासन दिनुभयो। केही दिनअघि पनि सोही सब स्टेसनमा यस्तै प्रकारको आगलागी भएको स्मरण गराउँदै, गर्मी मौसममा अत्यधिक लोडका कारण यस्ता समस्या देखा पर्न थालेको उहाँको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?