सलहेश फूलबारीमा नयाँ वर्षको मेला, ऐतिहासिक फूल हेर्न हजारौँको भीड

5 दिन पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १ गते । सिराहाको लहानस्थित सलहेश फूलबारीमा आज नयाँ वर्षको अवसरमा लाग्ने ऐतिहासिक मेला भव्य रूपमा सम्पन्न भइरहेको छ। वैशाख १ गते मात्र फुल्ने दुर्लभ सुनाखरी फूलको माला हेर्न तथा लोकनायक सलहेशको पूजा गर्न हजारौँ भक्तजन नेपाल र भारतका विभिन्न स्थानबाट सलहेश मन्दिरमा पुगेका छन्। मेला समितिका अध्यक्ष जयकान्त चौधरीका अनुसार, लहान–१२ र २२ मा फैलिएको करिब नौ बिघा क्षेत्रफलको यस फूलबारीमा यसपालि पनि हारमको रुखमा विशेष सुनाखरी फूल फुलेको छ। मेलालाई व्यवस्थित बनाउन सयभन्दा बढी स्वयंसेवक खटाइएको छ भने सुरक्षाको लागि प्रहरी प्रशासनसँग सहकार्य गरिएको छ।

लोकगाथामा उल्लेख गरिएअनुसार, १४औँ शताब्दीका राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेम प्रतीकका रूपमा लिइने यो फूलबारी ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थल हो। तराई क्षेत्रका पासवान समुदायका इष्टदेव मानेने सलहेशको पूजाबाट सन्तान प्राप्ति, चर्मरोगलगायत समस्याबाट छुट्कारा पाइने विश्वास रहिआएको छ। यद्यपि नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यमा सूचीकृत गरिसकेको भए पनि पर्यटक संख्या र पूर्वाधार विकासमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले एकीकृत गुरुयोजना बनाएर यस क्षेत्रलाई व्यवस्थित गर्न सके धार्मिक र व्यापारिक दृष्टिले ठूलो लाभ लिन सकिने सुझाव दिएका छन्। नेपाली सेनाले शिलालेख, पैदलमार्ग निर्माणजस्ता संरचनागत कामहरूमा योगदान दिएको भए पनि खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन अझै अपर्याप्त रहेको जनगुनासो रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?