गाजियाबादका दरोगामाथि आग्रामा बलात्कारको मुद्दा, तीन वर्षदेखि विवाहको झुठो आश्वासनमा पीडित युवतीको शोषण

5 दिन पहिले प्रकाशित

एजेन्सी, चैत २९ गते । उत्तर प्रदेशको गाजियाबादस्थित कौशाम्बी थानामा कार्यरत दरोगा अवनीश कुमारमाथि बलात्कारको गम्भीर आरोप लागेको छ। आग्राको ट्रान्स यमुना थाना क्षेत्रकी २५ वर्षीया युवतीले दरोगाले तीन वर्षदेखि विवाह गर्ने झुठो आश्वासन दिई बारम्बार बलात्कार गर्दै आएको आरोप लगाएकी छन्। युवतीले जब विवाहको कुरा उठाइन्, उनलाई गाली गलौज गर्दै ज्यान मार्ने धम्कीसमेत दिइएको बताइएको छ। दरोगाले जबर्जस्ती गर्भपतन गराएको दाबी गर्दै युवतीले उजुरी दिएकी हुन्। यस प्रकरणमा दरोगामाथि बलात्कारलगायत अनेक गम्भीर धारामा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

पीडितले सन् २०२२ मा प्रतियोगी परीक्षाको तयारी गर्दै गर्दा हातरस निवासी अवनीश कुमारसँग चिनजान भएको र त्यसपछि प्रेमको नाटक गर्दै शारीरिक सम्बन्ध बनाएको आरोप लगाएकी छन्। अवनीशको सन् २०२३ मा यूपी प्रहरीमा दरोगाको पदमा नियुक्ति भएपछि उनी प्रशिक्षणमा गएका थिए तर फर्केपछि सम्बन्ध कायमै राख्दै शोषण गरिरहे। पीडितले पहिले गाजियाबाद र हातरसमा उजुरी दिँदा सुनुवाइ नभएपछि अन्ततः प्रहरी आयुक्तको समक्ष पुगेर न्यायको गुहार गरेकी थिइन्।

सामाजिक सञ्जालमार्फत दरोगाको अर्को युवतीसँग सगाई भएको थाहा पाएपछि पीडितले पुनः सम्पर्क गरेकी थिइन्। १६ मार्चमा दरोगाले उनलाई होटलमा भेटेर बहाना बनाउँदै सम्बन्ध कायम गरेका थिए। तर ३० मार्च २०२५ मा उनले अर्कै युवतीसँग विवाह गरेपछि पीडित युवती झनै आहत भइन्। उनले विवाहको कुरा उठाउँदा दरोगा आक्रोशित भई गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए। क्राइम अगेंस्ट वूमेन सेलकी प्रमुख सुकन्या शर्माले पीडितसँग भएका प्रमाणहरू अनुसन्धानमा समावेश गरिएको र आरोपीमाथि कानुनी कारबाही अघि बढाइएको जानकारी दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?