"उत्तर प्रदेशमा श्रीमानको घाँटी थिचेर हत्या: श्रीमती शिवानी पक्राउ, प्रेम सम्बन्ध र जागिरको लोभ कारण?"

9 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत २५ गते । भारतको उत्तर प्रदेशको बिजनौर जिल्लामा एक सनसनीपूर्ण घटनाले सबैलाई स्तब्ध बनाएको छ। नजिबाबाद क्षेत्रको आदर्श नगरमा बस्दै आएका दीपक कुमारको आफ्नै श्रीमती शिवानीद्वारा घाँटी थिचेर हत्या गरिएको छ। २९ वर्षीय दीपक रेलवे स्टेसनको क्यारिज एन्ड वैगन विभागमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए। अप्रिल ४ तारिखमा उनको अचानक मृत्यु भएको भन्दै शिवानीले हृदयघातको नाटक गरेकी थिइन्, तर पोस्टमार्टम रिपोर्टले घाँटी थिचेर हत्या भएको पुष्टि गरेपछि घटनाले नयाँ मोड लिएको छ।

श्रीमतीले पोस्टमार्टन गर्न नमान्दा पनि परिवारको आग्रहमा रिपोर्ट बनाइयो, जसले दीपकको हत्या पुष्टि गर्‍यो। रिपोर्ट अनुसार हत्या सम्भवत: खाना खाइरहेको बेलामा गरिएको थियो। यसपछि मृतकका भाइले किटानी जाहेरी दिएपछि शिवानीलाई पक्राउ गरिएको हो। जाहेरीमा भनिएको छ कि शिवानीले दीपकको जागिर र पैसा हडप्न षड्यन्त्रपूर्वक हत्या गरेकी हुन्। विवाहेत्तर सम्बन्ध वा अन्य व्यक्तिको संलग्नता रहेको आशंकामा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

दीपक र शिवानीको प्रेम विवाह १७ जनवरी २०२४ मा भएको थियो। दम्पती भाडाको घरमा बस्दै आएका थिए। घटनाको दिन, शिवानीले सासू र देवरलाई फोन गरेर ‘हृदयघात’ भएको सूचना दिएकी थिइन्। अस्पताल पुग्नासाथ डाक्टरले दीपकलाई मृत घोषणा गरे। लामो सोधपुछपछि शिवानीले अपराध स्वीकार गरेकी हुन्। अहिले प्रहरी यो हत्या एक्लै गरियो वा कसैसँग मिलेर गरियो भन्नेबारे अनुसन्धान गरिरहेको छ। साथै, यस घटनाले समाजमा विश्वासको संकट र विवाहपछिको विश्वसनीयताको गहिरो प्रश्न खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?