रामनवमीको अवसरमा सीतामढी–अयोध्या राम–जानकी पथलाई स्वीकृति, धार्मिक एकता र विकासलाई मिल्नेछ गति

13 घन्टा पहिले प्रकाशित

 

एजेन्सी, चैत २५ गते । रामनवमीको शुभ अवसरमा भारत सरकारले बिहारलाई ठुलो उपहार दिएको छ। भगवान रामको नगरी अयोध्या र माता सीताको जन्मस्थली सीतामढीलाई जोड्ने "राम–जानकी पथ" को एलाइनमेन्टलाई केन्द्र सरकारले स्वीकृति दिएको छ। यो सडक परियोजनाले दुई धार्मिक स्थललाई फोरलेन सडकमार्फत जोड्ने लक्ष्य लिएको छ। कुल 240 किलोमिटर लामो यो सडक निर्माणमा झन्डै 6,155 करोड रुपैयाँको लागत लाग्नेछ।

यो पथ मेहरौना घाटबाट सुरु भई सिवान, सारण, पूर्वी चम्पारण, शिवहर हुँदै सीतामढीको भिट्ठा मोडसम्म पुग्नेछ। सडक 70 मिटर चौडा हुनेछ। केन्द्रीय सडक तथा यातायात मन्त्रालयको समितिले यो परियोजनालाई स्वीकृति दिएको हो। समितिका सचिव वी. उमाशंकरको अध्यक्षतामा बसेको बैठकमा बिहार पथ निर्माण विभागका वरिष्ठ अधिकारी मिहिर कुमार सिंहले पनि सहभागिता जनाएका थिए। सरकारले आगामी ढाई देखि तीन वर्षभित्र यो पथ निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।

हाल मेहरौना–सिवान (40 किमी) र सिवान–मशरख (52 किमी) खण्डको टेन्डर प्रक्रिया सुरु भइसकेको छ भने अब मशरख–चकिया (48 किमी) र चकिया–भिट्ठा मोड (103 किमी) खण्डलाई समेत स्वीकृति दिइसकिएको छ। सीतामढी बाइपासलाई पुनौराधाम सिधा मुख्य सडकसँग जोडिने गरी डिजाइन गरिनेछ, जसले श्रद्धालुहरूलाई सजिलो हुनेछ। यस सडकले अयोध्या र सीतामढीबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउनेछ र यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा ठुलो टेवा पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?