रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री बनेर इतिहास रचिन्

2 महीना पहिले प्रकाशित

नयाँ दिल्ली, फागुन ८ गते ।  भारतीय जनता पार्टी (भाजपा) की शालीमार बाग विधायक रेखा गुप्ताले दिल्लीको नवौँ मुख्यमन्त्रीको रूपमा शपथ लिएर नयाँ इतिहास रचेकी छन्। बिहीबार रामलीला मैदानमा भएको भव्य समारोहमा उनले मुख्यमन्त्री पदको शपथ ग्रहण गरिन्। यो समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसहित भाजपा शासित राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिए, जसमा प्रवेश वर्मा, आशीष सूद, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह छन्। यीमध्ये प्रवेश वर्मा अरविन्द केजरीवाललाई पराजित गर्ने नेताको रूपमा चर्चित छन्।

शपथ ग्रहणअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुप्ताले यो पदलाई अवसर र चुनौती दुवै मानेकी छन्। उनले भनिन्, “यो जिम्मेवारी मेरो लागि ठूलो सम्मान हो। म प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी नेतृत्वप्रति कृतज्ञ छु। मैले कहिल्यै कल्पना पनि गरेकी थिइनँ कि म दिल्लीको मुख्यमन्त्री बन्नेछु। म शीशमहलमा बस्ने छैनँ।” उनको यो अभिव्यक्तिले दिल्लीको मुख्यमन्त्री निवास ‘शीशमहल’ माथि भाजपाको पुरानो आलोचनालाई पुनः उजागर गरेको छ।

‘शीशमहल’ नामले चिनिने यो निवास अरविन्द केजरीवालको कार्यकालमा निर्माण भएको थियो। भाजपाले यसको निर्माणमा करोडौँ रुपैयाँ खर्च भएको आरोप लगाउँदै यसलाई राजनीतिक मुद्दा बनाएको थियो। अब रेखा गुप्ताको नेतृत्वमा दिल्लीको प्रशासनले नयाँ बाटो पहिल्याउने अपेक्षा छ, जसले भाजपाको नीति र प्राथमिकतालाई अगाडि बढाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?