जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सभामा प्रस्तुत गरिएको प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयक, २०८१ फिर्ता गर्न माग गरिएको छ। बिहीबार चौथो अधिवेशनको ११औँ बैठकमा सांसदहरूले शून्य समयमा बोल्दै उक्त विधेयकमा थारू, उर्दू, मगही, मगर, र तामाङ भाषा नसमेटिएको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले यी भाषालाई समावेश गरेर विधेयक पुनः संसद्मा पेस गर्न माग गरेका छन्। सांसदहरूले सबै भाषाभाषीको अपनत्व हुने गरी विधेयक परिमार्जन गर्न जोड दिए।
सभामुख रामचन्द्र मण्डलले विधेयकको कानुनी प्रक्रिया पूरा गरेर मात्र फिर्ता लिने व्यवस्था रहेको जानकारी गराउँदै, बिहीबारको कार्यसूचीमा उक्त विधेयक समावेश नगरिएको बताए। मधेश प्रदेश सरकारले प्रस्ताव गरेका कामकाजी भाषाहरूमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी समावेश गरिएका छन्। राष्ट्रिय जनगणना, २०७८ का तथ्यांक अनुसार मैथिली ४१.७३ प्रतिशत, भोजपुरी १८.८१ प्रतिशत, बज्जिका १८.४४ प्रतिशत, हिन्दी ०.२३ प्रतिशत, र अंग्रेजी ०.०० प्रतिशत मानिसले बोल्ने उल्लेख गरिएको छ। तर, थारू, उर्दू, मगही, मगर र तामाङ भाषाहरूलाई विधेयकमा समावेश नगर्नु अन्यायपूर्ण भएको सांसदहरूको भनाइ छ। गणनामा ६२ भाषाको अस्तित्व रहेको मधेश प्रदेशमा समावेशीकरणको माग अझ प्रखर रूपमा उठेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments