बर्दीबासमा रामजानकी फन पार्क निर्माण सुरु, ४२ करोडको परियोजना
20 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ १ गते । मधेश प्रदेशकै महत्वाकांक्षी परियोजनाका रूपमा रामजानकी फन पार्क निर्माणको औपचारिक प्रक्रिया सुरु भएको छ। बर्दीबास नगरपालिका वडा नं १४ स्थित रातु नदी किनारको ४० बिघा क्षेत्रमा निर्माण गरिन लागेको यो पार्कको प्रारम्भिक लागत ४२ करोड रुपियाँ अनुमान गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार ३९ बिघा जग्गा आवश्यक पर्नेमा ३६ बिघा ऐलानी र ३ बिघा नम्बरी जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढिसकेको छ।
ग्रिन टेक कन्सल्टेन्ट प्रालिले तयार पारेको डिजाइनअनुसार पार्कमा जनकपुरको प्रसिद्ध जानकी मन्दिरको प्रतीकात्मक रूप समावेश गरिएको छ। वाटर फन पार्क, वनवाटिका, बाल मनोरञ्जन, सांस्कृतिक संग्रहालय, र रेस्टुरेन्टजस्ता सुविधाहरू पार्कमा उपलब्ध हुनेछन्। पार्क एकैपटक ५० हजार आगन्तुक समाउन सक्षम हुने गरी निर्माण गरिँदैछ। नगरप्रमुख प्रह्लाद क्षेत्रीले मनोरञ्जन मानवको मौलिक हक भएकाले यस परियोजनालाई मूर्तरूप दिन लागिएको बताउनुभयो। पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित यो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments