स्थानीय तहमा कार्यवाहक प्रमुख तोक्न अध्यादेश प्रस्ताव

8 महीना पहिले प्रकाशित

काठमाडौं, पुस २८ गते । सरकारले स्थानीय तहमा प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्ष दुवै पद रिक्त वा निलम्बनमा परे कार्यवाहक तोक्न मिल्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। कार्यपालिका सदस्यहरूमध्येबाटै कार्यवाहक प्रमुख वा उपप्रमुख चयन गर्न सकिने व्यवस्थासहित मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनका लागि अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

अध्यादेशमा, प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा वा पद रिक्त भएमा कार्यपालिका सदस्यहरूले छानेको सदस्यले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने प्रावधान छ। वडा अध्यक्षको हकमा पनि, पद रिक्त वा निलम्बनमा परे वडा समितिले चयन गरेको सदस्यले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्ने व्यवस्था उल्लेख गरिएको छ।

गोदावरी नगरपालिकामा देखिएको समस्या समाधानका लागि प्रयास

यसअघि ललितपुरको गोदावरी नगरपालिकामा यस्तै समस्या देखा परेको थियो, जहाँ मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी दुवै एकैपटक निलम्बनमा परेका थिए। कार्यवाहक तोक्ने कानुनी अभावका कारण नगरपालिकाका सेवा प्रभावित भएका थिए। उनीहरू अहिले सफाइ पाए पनि त्यसबेला कानुनी स्पष्टता नहुँदा समस्याहरू सिर्जना भएका थिए।

यो प्रस्तावित अध्यादेश राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ। यसले स्थानीय तहमा प्रशासनिक कामकाजलाई अवरुद्ध हुनबाट जोगाउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?