रवि लामिछाने हिरासतमा, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा थुनछेक बहस पर्खाइमा
8 महीना पहिले प्रकाशित

काठमाडौं, पुस २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग प्रकरणमा आइतबार हिरासतमा पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा बयान दिए पनि थुनछेक बहस नभएका कारण न्यायाधीश माधवप्रसाद अधिकारीको आदेशमा लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो। सहकारीको बचत दुरुपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।
लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने र सोमबार अदालतमा पुनः उपस्थित गराइनेछ। आइतबार लामिछाने आफैँ अदालतमा हाजिर भए पनि सरकारी वकिलले थुनछेक बहसका लागि समय मागेपछि निर्णय स्थगित भएको हो। लामिछाने र उनका वकिलहरूले उनलाई परिवार वा वकिलको जिम्मामा छोड्न आग्रह गरे पनि न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका थिए। यसअघि पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा ८४ दिन हिरासतमा बसेका लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
कमेन्ट गर्नुहोस्
view comments