तिलासक्रायत पर्वको चटारोः मिथिलामा तयारीले चहलपहल
21 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुस २४ गते । मिथिला क्षेत्रमा छिप्पिँदो जाडोसँगै तिलासक्रायत पर्वको तयारीले गति लिएको छ। घरघरमा आवश्यक सामग्री जोहो गर्ने, पकाउने र तुल्याउने चटारोले अहिले वातावरणलाई चहलपहलपूर्ण बनाएको छ। विशेष गरी गृहणीहरू धान निफन्ने, उसिन्ने, सुकाउने, कुटेर चामल र मुरी बनाउने तथा चिउरा कुट्ने काममा व्यस्त छन्। यस पर्वका लागि तिल निफन्ने, छान्ने, सुकाउने, सक्खरको जोहो गर्ने जस्ता कार्यले पनि समय लिएको छ। भङ्गाहा–४ की ७५ वर्षीया रामसुनर देवी थारुले कामका चटारो र समयको दबाबबारे चर्चा गर्दै मौसमका कारण केही चिन्ता व्यक्त गर्नुभयो। थारु समुदायको मुख्य पर्वको रूपमा मनाइने तिलासक्रायतमा माछामासुका परिकार बनाउने परम्परा रहेको छ, जसले यस पर्वको रौनक थपेको छ।
पर्वको परम्परागत महत्त्वसँगै सामाजिक पक्ष पनि विशेष छ। मिथिलामा थारु समुदायले छोरीचेली, ज्वाइँ, भाञ्जाभाञ्जी, र नातिनातिनालाई पर्वअघि नै निम्त्याउने चलन छ भने अन्य समुदायले पर्व मनाइसकेपछि सनेस (कोसेली) लिएर इष्टमित्रकहाँ जाने चलन छ। यस अवसरमा घरकरेसामा लगाइएका तरुल, पिँडालु, सुठुनीजस्ता कन्दमूलका उत्पादनले राम्रो मूल्य पाउने आसमा किसानहरू उत्साहित छन्। बर्दिवासका किसान महेन्द्रसिंह महतोका अनुसार, अनुकूल मौसमका कारण यसपटक कन्दमूलको उत्पादन प्रशस्त भएको छ। सिमल तरुलभन्दा लहरे तरुलको खेती बढी हुने मिथिला क्षेत्रमा, सङ्क्रान्तिका लागि यी कन्दमूलको माग निकै उच्च रहँदै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments