जनकपुर बोल्ट्सको जनकपुरधाममा ऐतिहासिक 'ट्रफी परेड'

18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस १२ गते । जनकपुर बोल्ट्सका खेलाडीहरूले आज जनकपुरधाममा भव्य 'ट्रफी परेड' गर्दै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि विजयी सफलताको उत्सव मनाएका छन्। गएराति जनकपुर आइपुगेका खेलाडीहरूले रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट प्रारम्भ भएको यो परेडलाई नगर परिक्रमा बनाएर ऐतिहासिक बनाएका हुन्। यो परेड थापा चोक, पिडारी चोक, रामानन्द चोक, विश्वकर्मा चोक, मुरली चोक, र रामचोक हुँदै जानकी मन्दिरमा पुगेर समापन भएको थियो।

पुस ६ गते सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो। यस ऐतिहासिक जितले टोलीलाई ट्रफीसँगै १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पनि दिलाएको छ। यस उपलब्धिलाई साझा गर्दै जनकपुरका समर्थकहरूसँग खुसी साट्ने उद्देश्यले खेलाडीहरूले ट्रफी परेड आयोजना गरेका हुन्, जसले जनकपुरधामलाई उल्लासमय बनाएको छ।

ट्रफी परेड केवल जनकपुरमै सीमित छैन। बोल्ट्सका खेलाडीहरूले मधेश प्रदेशका अन्य जिल्लामा पनि यो परेड गर्ने योजना बनाएका छन्। भोलि महोत्तरी, सप्तरी, र रौतहटमा कार्यक्रम हुनेछ भने पर्सि बारा र पर्सामा परेड गरिनेछ। यस्तै, चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गर्दै ट्रफी परेडलाई समापन गर्ने लक्ष्य जनकपुर बोल्ट्सले तय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?