भ्रष्टाचारविरुद्ध आजीवन कारावासको व्यवस्था गर्नुपर्छ: मुख्यमन्त्री सिंह

5 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस २ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणका लागि कठोर कानुनी व्यवस्था आवश्यक रहेको बताउँदै भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्ने सुझाव दिएका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाममा आयोजना गरेको "भ्रष्टाचार नियन्त्रण र सुशासन" विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले हालको ५ देखि १० वर्षको सजायलाई अपर्याप्त भन्दै कडा कानुनी कदम चाल्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री सिंहले राजनीतिक क्षेत्र र कर्मचारी सेवामा प्रवेश गरेको छोटो समयमै मानिसको जीवनशैलीमा आएको परिवर्तन र विलासी जीवनले भ्रष्टाचारलाई प्रोत्साहन गरिरहेको बताए। भ्रष्टाचारको मूल कारण कर्मचारीको न्यून तलब भएको उल्लेख गर्दै उनले तलब वृद्धि गर्न सके भ्रष्टाचार स्वतः घट्ने दाबी गरे। कार्यक्रममा अख्तियारका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै, बेनामी उजुरी रोकिए थप भ्रष्टाचार बढ्ने चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?