राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु, स्थानीयवासीमा हर्ष

5 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस २ गते ।  सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडानको सुरुवात भएसँगै स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन्। सोमवार राति बुद्ध एयरले काठमाडौँ-राजविराज रात्रिकालीन परीक्षण उडान गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जिल्लावासीको माग सम्बोधन गर्दै यो उडानको व्यवस्था गरेको हो। परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहितका टोली राजविराज पुगेका थिए। कार्यक्रममा मन्त्री पाण्डेले राजविराज विमानस्थल देशकै १० औं रात्रिकालीन उडान सुविधा पाउने विमानस्थल भएको र यसले आर्थिक र पर्यटकीय सम्भावना उजागर गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले विपत्तिका बेला सडक यातायातमा समस्या उत्पन्न हुँदा विमानस्थलहरूको महत्व अझै बढ्ने बताए। उनले रात्रिकालीन उडानले स्थानीय जनतालाई थप सहज बनाउने र आर्थिक अवसरहरू सिर्जना गर्ने उल्लेख गरे। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले रात्रिकालीन उडान सुरु हुनु सप्तरीवासीको लागि गौरवको विषय भएको बताए। उनले राजविराज विमानस्थलको उपयोग थप प्रभावकारी बनाउन र थप उडानका लागि सप्तरीवासीले निरन्तर पहल गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?