त्रिभुवन विश्वविद्यालयमा भागबन्डा रोक्न सुमना श्रेष्ठको अपिल

11 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर २६ गते ।  प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको डीन र क्याम्पस प्रमुख नियुक्तिमा सत्तारुढ दलहरूले भागबन्डा खोज्नु अक्षम्य अपराध भएको बताउँदै यस्तो प्रवृत्ति तत्काल रोक्न जोडदार माग गरेकी छन्। उनले योग्यता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने प्राज्ञिक क्षेत्रमा दलीय भागबन्डा हावी भएको कारण नेपालको उच्च शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको बताइन्। मङ्गलबार एक कार्यक्रममा श्रेष्ठले विश्वविद्यालयमा निरन्तर हुने राजनीतिक हस्तक्षेपले उच्च शिक्षाको सुधार असम्भव भएको र यस्तो हस्तक्षेप नरोकेसम्म शिक्षाको गुणस्तर उकास्न नसकिने तर्क गरिन्।

श्रेष्ठले दलहरूले आफ्ना कार्यकर्ता भर्ती गर्न विश्वविद्यालयको नेतृत्वलाई धम्क्याएको आरोप लगाउँदै, यस्तो भागबन्डा नपाए विद्यार्थी सङ्गठनमार्फत अराजकता फैलाउने प्रवृत्ति रहेको बताइन्। उनले आफ्नो कार्यकालमा मेरिटोक्रेसी स्थापित गर्न संघर्ष गरेको दाबी गर्दै, त्रिविको अपचलन गरिएको जग्गाको छानबिन प्रतिवेदन सरकारले लुकाएको उदाहरण दिइन्। शिक्षकजस्तो सम्मानित पेसामा दलगत स्वार्थभन्दा योग्यता र उत्कृष्टतालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन्। साथै, समितिको प्रतिवेदन कार्यान्वयन नगरेर मेरिटोक्रेसीको मजाक उडाउने प्रवृत्तिको कडा विरोध गर्न पनि आह्वान गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?