गढीमाई मेलामा भक्तजनको ठूलो घुइँचो, भाकल पूरा गर्न हजारौंको उपस्थिति
13 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २४ गते । भारतको बिहार राज्यका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रसिद्ध गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा बरियापुर आइपुगे। उनले गढीमाईसँग भाकल गरेका थिए, जसले पूरा भएको भन्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्न मन्दिर आएका हुन्। हाल गढीमाई मन्दिरमा भारतीय तथा नेपाली भक्तजनको घुइँचो लागेको छ। यही मङ्सिर १ गतेदेखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेलामा भारत तथा अन्य विदेशबाट समेत भक्तजनको उल्लेख्य सहभागिता देखिएको छ। मेला पाँच वर्षमा एकपटक मात्र लाग्ने भएकाले यसपालि पनि भव्य उपस्थिति रहेको छ।
मेलाका व्यवस्थापक तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार यस वर्षको मेलामा करिब एक करोड भक्तजनको उपस्थिति हुने अपेक्षा गरिएको छ, जसमा ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली श्रद्धालु छन्। अत्यधिक भीडले गर्दा कलैयादेखि बरियापुरसम्मको सडकमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले पर्याप्त जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापन भइरहेको बताए। आइतबार बिहान मात्र १० हजारभन्दा बढी राँगाको बलि दिइसकिएको छ भने बोका बलि चढाउने क्रम निरन्तर जारी छ।
कमेन्ट गर्नुहोस्
view comments