शिक्षा मन्त्री भट्टराईद्वारा आकस्मिक निरीक्षण, शैक्षिक सुधारमा नयाँ कार्ययोजनाको निर्देशन

1 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक २९ गते ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र र अन्य सम्बद्ध कार्यालयहरूको आकस्मिक निरीक्षण गरेकी छन्। विशेष शिक्षा परिषद्को बैठकमा सहभागी हुन परिषद्को सचिवालयमा पुगेकी मन्त्री भट्टराईले तालिम, शैक्षिक सामग्री विकास, र पुस्तकालय शाखाहरूको निरीक्षण गरी, पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न निर्देशन दिइन्। उनले पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनमा त्रुटिरहित बनाउन विशेष ध्यान दिन आग्रह गरिन्। साथै, चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति, र वैदेशिक सम्बन्धनसँग सम्बन्धित शाखाहरूमा पनि निरीक्षण गरी, कार्य प्रणाली, समस्या, र चुनौतीहरूबारे जानकारी लिइन्।

निरीक्षणको क्रममा मन्त्री भट्टराईले शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँग अनुसन्धानको यथार्थपरकता सुनिश्चित गरी यसको उपलब्धिलाई कार्यान्वयन गर्ने योजनासहित अन्तर निकाय समन्वयको आवश्यकता औंल्याइन्। पुस्तकालय व्यवस्थापनलाई आधुनिक बनाउँदै, सबै उमेरका पाठकलाई उपयोगी पुस्तकहरू थप्न र पुराना महत्त्वपूर्ण पुस्तकहरूको संरक्षणमा जोड दिइन्। कक्षा १० र १२ का विद्यार्थीको उपलब्धि सुधार गर्न श्रव्यदृश्य सामग्रीहरूलाई सहज पहुँचमा पुर्‍याउनुपर्ने धारणा राख्दै उनले जनसेवामा समर्पित हुन कर्मचारीलाई प्रेरित गरिन्। निरीक्षणको क्रममा केही कर्मचारीहरू कार्यकक्षमा अनुपस्थित भेटिएपछि, मन्त्री भट्टराईले यसबारे चासो पनि व्यक्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?