छात्रवृत्ति सम्झौतामा षडयन्त्रको आरोप, जनकपुरधाममा निजी विद्यालयहरूको आक्रोश
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २६ गते । जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेवि संघ) बीच कक्षा ११ र १२ का विद्यार्थीहरूको छात्रवृत्ति सम्बन्धी सम्झौतामा षड्यन्त्र भएको भन्दै निजी विद्यालयका संगठनहरूले आक्रोश व्यक्त गरेका छन्। प्याब्सन, एनप्याब्सन, र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै उपमहानगरले नेवि संघको दबाबमा उक्त निर्णय गरेको आरोप लगाए। हिसान धनुषाका अध्यक्ष संजीव ठाकुरले जनकपुरधामको शिक्षा स्तरलाई कमजोर बनाउने उद्देश्यले गरिएको यो सम्झौता आफूहरूलाई मान्य नरहेको बताए। उनले भने कि उनीहरू उपमहानगरको निर्णय मान्न तयार भए तापनि छलफल नगरी निर्णय उल्टाउनु आपत्तिजनक हो।
मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्र कुमार साहले पनि छात्रवृत्ति वितरण कार्यविधि २०७४ अनुसार निर्णय लिनुपर्नेमा उपमहानगरले फरक प्रकारको निर्णय गरेकोमा गम्भीर आपत्ति जनाए। उनले सबै पक्षसँग छलफल गरेर कार्यविधि निर्माण गर्न माग राखे र उपमहानगरले पुरानै निर्णयलाई कार्यान्वयन नगरे निजी विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिए। निजी विद्यालयहरूले पुरानै निर्णय अनुसार शुल्क निर्धारण नभए पठनपाठन ठप्प पार्ने चेतावनीसमेत दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments