काग तिहार: यमराजका दूत कागलाई श्रद्धा र मिठाई चढाउने पर्व

6 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १४ गते । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज बिहान यमराजका दूत कागलाई मिठो–मिठो परिकार चढाएर मनाइँदैछ। शास्त्रीय मान्यताअनुसार काग तिहार सूर्योदयकालमा त्रयोदशी परेको दिन मनाउनुपर्ने भएकाले आज बुधबारलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो पर्वको लागि उपयुक्त ठहर गरेको छ। यस दिन कागलाई मिष्ठान्न दिएर खुसी पार्ने प्रथा रहिआएको छ।

शास्त्रीय विधान अनुसार, यमराजले लोकका घटनाहरु कागका माध्यमबाट थाहा पाउँछन्, त्यसैले कागलाई यमदूतको रूपमा आदर गर्ने परम्परा छ। यस अवसरमा कागलाई पूजा गरेर मीठो खान दिनाले यमराजसम्म राम्रो सन्देश पुगोस् भन्ने विश्वास छ। ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही र भात मीठो लाग्छ भन्ने शास्त्रीय भनाइअनुसार आजको दिन कागलाई दही भात चढाउनाले शुभ फल मिल्ने मान्यता छ।

कागले घर वरिपरि कराएमा कुनै समाचार ल्याएको विश्वास गर्दै ‘शुभ बोल, शुभ बोल’ भन्ने लोक मान्यता पनि रहेको छ। यसै कारण आजका दिन कागलाई विशेष मान्यता दिँदै पूजा गरिन्छ। कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि विशेष पूजा र आराधना हुने गर्दछ। यस पर्वले सम्पूर्ण परिवारका लागि शुभ र कल्याणकारी सन्देश पुर्याउने मान्यता छ।

साथै, परिवारको कल्याण र यम यातनाबाट मुक्तिका लागि आज साँझदेखि यम दीपदान गर्ने परम्परा छ। वैदिक शास्त्रीय विधिअनुसार दीपदान दक्षिण फर्काएर गरिन्छ, जसले यमराजबाट रक्षा हुने विश्वास गरिन्छ। यस वर्ष तिथिको कारण मंगलबार बेलुकीदेखि नै यमपञ्चक सुरु भएको हो, जुन पाँच दिनसम्म विशेष श्रद्धा र पूजाआराधनासहित मनाइन्छ। धनतेरस पर्वमा गरगहना र तामा–काँसाका भाँडा किन्नाले लक्ष्मी घरमा स्थिर रहन्छ भन्ने धार्मिक मान्यता पनि रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?