"निर्वाचन आयोगले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्यो, उम्मेदवारी दर्ता मंसिर २ मा"
3 महीना पहिले प्रकाशित
काठमाडौं, असोज १० गते । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको निर्वाचन कार्यक्रमअनुसार, उम्मेदवारी दर्ता मंसिर २ गते हुनेछ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण सापकोटाका अनुसार, मंसिर २ मा बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता खुला हुनेछ। उम्मेदवारहरूको सूची सोही दिन साँझ ५ देखि ६ बजेसम्म सार्वजनिक गरिनेछ।
उम्मेदवारीमाथि विरोधका उजुरीहरू मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म दिन सकिनेछ। त्यसै दिन दिउँसो ३ देखि साँझ ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको अन्तिम सूची साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित गरिनेछ।
मंसिर ५ मा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्, जसको समय बिहान ९ देखि दिउँसो १ बजेसम्म तोकिएको छ। अन्तिम नामावली त्यसै दिन दिउँसो १ देखि ३ बजेसम्म सार्वजनिक गरिनेछ र उम्मेदवारलाई निर्वाचन चिन्ह दिउँसो ३ देखि ५ बजेसम्म वितरण गरिनेछ।
निर्वाचन कार्यतालिका अनुसार, मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। प्रचारप्रसार निषेध अवधि भने मंसिर १३ गते राति १२ बजेदेखि लागू हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments