प्रधानमन्त्री ओली: एसईईको नतिजा ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु
3 महीना पहिले प्रकाशित
काठमाडौं, असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रममा बुधवार सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार प्रतिबद्ध रहेको र अनलाइन कक्षामार्फत विद्यार्थीलाई मुख्य विषयहरूमा शिक्षण गरी एसईईको नतिजामा सुधार गर्न थालिएको जानकारी दिए। हाल एसईईमा करिब ५० प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुने गरेका छन्।
प्रधानमन्त्री ओलीले भने, "एसईईको नतिजामा उल्लेख्य सुधार गर्न आवश्यक छ, र उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ। अब हामीसँग कुरा गरेर मात्रै बस्ने समय छैन। यो भूमि शिक्षा, ज्ञान, सभ्यता र संस्कृतिको धनी हो, यसले पछाडि परिरहन सक्दैन।"
उनले सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा शिक्षा विकासको लहर चलेको भए पनि अपेक्षाअनुसार प्रगति गर्न नसकेको बताए। "राणा र राजाहरूले आफ्नो ऐशआराम र शासनमा मात्रै ध्यान दिए। अहिले गणतन्त्र आइसकेको छ, र यस व्यवस्थामा शिक्षालाई पछि पर्न नदिनु हामी सबैको दायित्व हो," ओलीले जोड दिए।
प्रधानमन्त्रीले शिक्षाकर्मीहरूलाई प्रतिस्पर्धात्मक विश्वका लागि सक्षम नागरिक उत्पादन गर्न आग्रह गरे। कार्यक्रममा, उनले उच्च शिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थाहरूलाई पुरस्कार वितरण गरे।
कमेन्ट गर्नुहोस्
view comments