घुम्न जाने भन्दै प्रेमिले गरे प्रेमिकाको हत्या
4 महीना पहिले प्रकाशित
२३ भदौ, काठमाडौं। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको भनाइ छ ।
टाउकोमा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको थियो ।गत बिहीबार सुन्दरीजल घुम्न गएका व्यक्तिले बोक्सेदहको ढुंगाको कापमा मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान टोली खटिएको थियो । प्रहरी घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको थियो ।
हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा छन् ।
प्रहरीका अनुसार प्रेमी रामविनय जुत्ता सिलाउने काम गर्थे भने प्रेमिका राम दुलारी ज्याला मजदुरीको काम गर्थिन् । उनीहरु करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर आपसी असमझदारीका कारण उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो ।
त्यसपछि सन्तोषसँग मिलेर रामविनयले हत्याको योजना बनाएको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
योजनाअनुसार नै रामविनयले प्रेमिका राम दुलारीलाई घुम्न भनेर सुन्दरीजल लगेका थिए । त्यसपछि सन्तोषको सहयोगमा रामदुलारीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
‘प्रेमीले घुम्न जाउँ भनेकाले प्रेमिकाले सहजै मानेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘सुन्दरीजल पुर्याएपछि उनीहरुले (रामविनय र सन्तोषले) डिलबाट धकेलेर बोक्सेदहमा दुलारीलाई खसालेका थिए । त्यसपछि ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
हत्यापछि बोक्सेदहकै ढुंगाको कापमा दुलारीको शव लुकाएर उनीहरु त्यहाँबाट हिँडेको पाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments