सांसदहरूले चिकित्सा शिक्षा आयोगको नतिजामा देखिएको अनियमितता छानबिन गर्न माग

4 महीना पहिले प्रकाशित

काठमाडौँ ,भदौ १८ गते ।  राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक अनियमितता भएको विवरण सार्वजनिक भएकोले यसको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन्। शून्य समयमा बोल्दै सांसदहरूले विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए। सांसद कृष्णप्रसाद पौडेलले आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही भएको भन्दै छानबिनको आवश्यकता औँल्याए। सांसद गोमादेवी तिमिल्सिनाले पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठाउँदै सत्यतथ्य पत्ता लगाउन माग गरिन्। भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति चिकित्सक शिक्षासँग सम्बन्धित परीक्षामा पनि देखिएको भन्दै दोषीमाथि कारबाही गर्न जोड दिए।

त्यस्तै, सांसद उर्मिला अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले प्रहरी प्रमुखसम्बन्धी दिएको भनिएको अभिव्यक्तिको सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्। सांसद नारायणदत्त मिश्रले ब्राजिल र रसियामा नेपालीहरूको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराए। सांसद मदनकुमारी शाह गरिमाले रसियाले गैरकानुनी रूपमा नेपाली नागरिकलाई सेनामा भर्ती गरेको र ४० नेपालीको मृत्यु भएको घटनालाई तत्काल समाधान गर्न पहल गर्न सरकारसँग माग गरिन्। सांसद युवराज शर्माले संघीय प्रणालीलाई सुदृढ बनाउन प्रहरी समायोजनमा ध्यान दिन सरकारलाई सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?