देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै: श्रद्धा र भक्तिको वातावरणले भरिएका कृष्ण मन्दिरहरू

4 महीना पहिले प्रकाशित

जनकपुरधाम,भदौ १० गते ।  वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग, र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। देशभरका कृष्णमन्दिरहरूमा पूजा-आराधना, प्रवचन, भजनकीर्तन, व्रत बसी रातभर जाग्राम बस्ने प्रचलनलाई विशेष महत्वका साथ मनाइन्छ। श्रीकृष्णले अन्याय, अत्याचार, र राक्षसी प्रवृत्तिबाट मानवताको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्म लिई सत्य र सत्कर्मको मार्गमा मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रको युद्धमा अर्जुनलाई उपदेश दिने क्रममा भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ, जुन विश्वभर सबैभन्दा बढी भाषामा अनुवाद भएको छ। यस पर्वको अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ भने कागेश्वरी मनोहराको नवतनधाम, बूढानीलकण्ठको श्रीकृष्ण मन्दिर लगायत राजधानीका विभिन्न स्थानमा भक्तजनहरूको घुइँचो लाग्दछ। यसैगरी, राजधानीका विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा आयोजना गर्ने गर्छन्, जसले यो पर्वलाई झनै उल्लासमय बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?