ढल्केबर-लोहारपट्टी १३२ केभी प्रसारण लाइन सञ्चालनमा, धनुषा-महोत्तरीका डेढ लाख ग्राहक लाभान्वित
5 महीना पहिले प्रकाशित
जनकपुरधाम, साउन ३१ गते । धनुषाको ढल्केबरदेखि महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई बुधबारदेखि सञ्चालनमा ल्याइएको छ। यस परियोजनामा ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइनसहित लोहारपट्टी १३२ केभी सबस्टेसनको निर्माण पनि समावेश गरिएको छ। सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यस परियोजनाले धनुषा र महोत्तरी जिल्लामा विद्युत् आपूर्ति प्रणालीको सुधार, बढ्दो विद्युत् मागको व्यवस्थापन, र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउने उद्देश्य राखेको छ।
२३ किलोमिटर लम्बाइको डबल सर्किट प्रसारण लाइनका लागि ९१ वटा टावरहरू निर्माण गरिएको छ। लोहारपट्टी सबस्टेसनमा १३२/३३ केभी क्षमताका दुईवटा ३० एमभिए पावर ट्रान्सफर्मरहरू र १३२/११ केभी क्षमताको एक २२.५ एमभिए पावर ट्रान्सफर्मर जडान गरिएको छ, जसबाट सबस्टेसनको कुल क्षमता ८२.५ एमभिए पुगेको छ। यस सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि जनकपुर, जलेश्वर, गौशाला, र यदुकुवा वितरण केन्द्रका करिब डेढ लाख ग्राहकले लाभ लिनेछन्। विद्युत् आपूर्ति प्रणालीमा चुहावट कम हुनुका साथै न्यून भोल्टेज र ट्रिपिङ समस्या समाधान भई समग्रमा आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ, प्राधिकरणका मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले जानकारी दिए।
यसअघि, उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति भइरहेको थियो, तर लामो दूरी र कम क्षमताका कारण न्यून भोल्टेज र ट्रिपिङ जस्ता समस्या उत्पन्न भएका थिए। स्थानीय स्तरमा विद्युत् आपूर्तिका लागि ३३ केभी क्षमताका चारवटा फिडर संरचना तयार गरिएको छ, जसमा २ वटा जलेश्वर, १ वटा गौशाला, र १ वटा जनकपुर क्षेत्रमा प्रयोग गरिनेछ। जनकपुरतर्फको फिडर निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ। लोहारपट्टी सबस्टेसनको आसपासका क्षेत्रहरूको विद्युत् आपूर्तिका लागि ११ केभी क्षमताका ४ वटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ, जसमा २ वटा फिडरको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। यस प्रसारण लाइन आयोजना करिब तीन वर्षअघि सुरु गरिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments