नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्ष सानेपामा विरोध प्रदर्शन गर्ने
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ११ गते । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन्।
गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन्।
‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्नुभएको छ। यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ’, पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगरले भनिन्, ‘बैठक सुरु हुनुअघि शुक्रबार दिउँसो १ बजेदेखि नै शान्तिपूर्ण रूपमा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्नेछौं।’
उनका अनुसार कोइराला समूहको बालुवाटारमा बिहीबार साँझ बसेको अनौपचारिक छलफलपछि सो प्रदर्शन गर्न लागिएको हो। बैठक शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुनेछ।
‘हिजो शेखर दाइको सचिवालयमा हाम्रो बैठक थियो। सो बैठकले सभापतिको सो एकलौटी निर्णयप्रति असहमति जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हौं’, मगरले भनिन्।
उनका अनुसार उक्त बैठकमा कोइराला, चन्द्र भण्डारी, गुरुराज घिमिरे, केशव सिंह, प्रतिमा गौतम, मनोजमणि आचार्य, गोविन्दराज पोखरेललगायत नेविसंघ र तरुण दलका पूर्वपदाधिकारीहरूको उपस्थिति थियो।
कमेन्ट गर्नुहोस्
view comments