मोरङमा भीडको आक्रमणबाट एक महिला प्रहरी जवानको मृत्यु
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ७ गते ।मोरङमा भीडको आक्रमणबाट एक महिला प्रहरी जवानको मृत्यु भएको छ ।
प्रहरीजवानको मृत्यु पश्चात मोरङको लेटाङमा स्थानीय प्रशासनले आज बिहान ७ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ।
आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।
मोरङको लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको विषयमा झडप भएको थियो ।त्यहाँ सुरक्षाका लागि खटाइएका प्रहरी जवान श्रेष्ठमाथि भीडले आक्रमण गरेको थियो ।घटनामा मोरङका एसपी जनार्दन जिसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।
थप अप्रिय घटना हुन नदिन अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि लेटाङ वडा नं। ४, ५ र ६ मा कर्फ्यु लगाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
घाइतेहरुलाई उपचारार्थ कोसी अस्पताल लगिए पनि श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए।आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
view comments