बिजुलीकाे प्रयाेग गरी सिँचाइ गराैँ, खेत बाँझाे नराखाैँ : ऊर्जा मन्त्री

4 वर्ष पहिले प्रकाशित

चैत १, २०७८
सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेशनको उद्घाटन भएको छ । सर्लाहीको बिजुली आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आउँदा दिनमा खुल्ने नयाँ उद्योगहरूलाई बिजुली उपलब्ध गराउन निर्माण गरिएको सबस्टेशनको आज मङ्गलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा उहाँले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी बिजुली खपत बढाउन आग्रह गर्नुभयो ।

तराई तथा मधेस क्षेत्रमा सिँचाइमा बिजुली खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ने उपकरणहरू विस्थापित गर्न आग्रह गर्नुभयो । ‘अहिले हामी वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, बिजुलीको प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौँ, खेत बाँझाे नराखौँ’, उहाँले भन्नुभयो, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र देशभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौँ ।’

उहाँले सबस्टेशन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो बिजुली आपूर्ति भइ औद्योगिकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सर्लाहीका सङ्घीय सांसद प्रमोदकुमार साहले यस क्षेत्रका सबस्टेशनबाट बिजुली आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय बिजुली पाउन थालेको बताउनुभयो । उहाँले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।

ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको बताउनुभयो । सरकारले महसुल घटाएकाले बिजुली चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

 

सबस्टेशनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६ मा सुरु गरिएको थियो । कोभिड–१९ को महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो । सबस्टेशन निर्माणको ठेक्का पावर टेक भारत र वाइबा इन्फ्राटेक नेपालको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो ।

कार्यक्रममा सबस्टेशन आयोजनाका कर्मचारी र ठेकेदार कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?