कुखुराको खोरमा थापेको पासोमा चितुवा फेला परे
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २५ गते । चन्द्रागिरि नगरपालिकाको दहचोकमा कुखुराको खोरमा थापेको पासोमा चितुवा परेको छ । १० घण्टासम्म पासोमा अल्झिएको चितुवाको बिहान वन कार्यालय र प्रहरीको टोलीले उद्धार गरेको छ । चितुवालाई उद्धार गरेर चिडियाखाना पठाइएको बलम्बु प्रहरीले जनाएको छ ।
दहचोकमा जग्गा भाडामा लिएर तरकारी फार्म सञ्चालन गरेका बलबहादुर बुढाले थापेको पासोमा चितुवा परेको हो । ‘टहरोको छेउमा कुखुराको सानो खोर छ, अस्ति वन बिरालोले दुईवटा कुखुरा खाएपछि हिजो बेलुकी पासो थापेको थिएँ, वन बिरालोलाई भनेर थापेको पासोमा चितुवा पो परेछ’ बलबहादुरले उज्यालोसँग भन्नुभयो ।
खोरको बाहिरपट्टि प्वालमा थापेको पासोमा चितुवा परेको उहाँले गएराति १२ बजेतिर थाहा पाउनुभएको हो । त्यसपछि उहाँले प्रहरीलाई खबर गर्नुभयो । प्रहरी र वन कार्यालयको टोलीले आज बिहान ९ बजेतिर चितुवालाई लठ्याएर उद्धार गरेको हो ।
खोरबाहिर नै चितुवा पासोमा परेकाले कुखुरा भने खान नपाएको बलबहादुरले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्
view comments