भीमफेदी माइक्रोबस दुर्घटनापछि सिट क्षमता र रुट परमिटमाथि छानबिन माग
18 घन्टा पहिले प्रकाशित
काठमाडौं , कार्तिक २७ गते । मकवानपुरको भीमफेदीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय माइक्रोबस दुर्घटनापछि सवारीको यात्रु क्षमता, रुट परमिट र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी व्यवस्थामाथि प्रश्न उठेको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। एक साताभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी पाएको समितिले सवारीको सिट क्षमता, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक स्थितिबारे अनुसन्धान गर्नेछ। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले विद्युतीय माइक्रोबसको सिट संख्या परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनको निर्णयमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनका अनुसार सुरुमा नौ सिट क्षमताका रूपमा स्वीकृत माइक्रोबसलाई ११ सिट क्षमतामा परिवर्तन गर्नुको प्राविधिक तथा कानुनी आधार सार्वजनिक हुनुपर्छ। दुर्घटनामा परेको १० सिट क्षमताको माइक्रोबसमा १५ जना सवार रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। चालकको थकान, ब्याट्री, ब्रेक प्रणाली र सुरक्षा मापदण्डको अवस्थासमेत परीक्षण गर्नुपर्ने उनको माग छ। गैरकानुनी रूपमा परमिट वितरण भएको पाइए सम्बन्धित पदाधिकारीलाई कारबाही गर्नुपर्ने सिटौलाको भनाइ छ।
कमेन्ट गर्नुहोस्
view comments