युवाहरूको सहयोगमा प्लास्टिकको छाना मुनि बस्दै आएकी रूको देवीले पाइन् नयाँ घर
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १५ गते । हंसपुर नगरपालिका-२, बघचौडाकी रूको देवी सादाले आज नयाँ घरको साँचो बुझिन्। वर्षौंदेखि प्लास्टिकको छाना ओढेको झुपडीमा बस्दै आएकी उनका लागि यो क्षण जीवनकै सबैभन्दा ठूलो खुसी बनेको छ।
श्री कृष्ण युवा सेवा समाजको आयोजनामा आज बिहान १० बजे घर हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। विदेशमा रोजगारीका लागि गएका स्थानीय युवाहरूको आर्थिक सहयोग र समाजको पहलमा "रूको देवी सादाको घर निर्माण" अभियान सञ्चालन गरिएको थियो। उचित छानो र सुरक्षित बासस्थान नभएकी उनका लागि सबैले मिलेर घर बनाइदिएका हुन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सामाजिक अभियन्ता जयनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो। पत्रकार आशा अधिकारी र सिटी टेलिभिजनका प्रतिनिधि राजेश अधिराजले पनि कार्यक्रममा सहभागी भई युवाहरूको प्रयासको प्रशंसा गर्नुभयो।
अतिथिहरूले यस्ता सामाजिक कार्यले समाजमा सहयोग र मानवताको भावना बलियो बनाउने बताए। विदेशमा पसिना बगाइरहेका युवाले आफ्नै गाउँठाउँका विपन्न परिवारलाई सम्झिएर गरेको सहयोग अनुकरणीय रहेको उनीहरूको भनाइ थियो।
घर पाएपछि भावुक बनेकी रूको देवीले सहयोगीप्रति आभार व्यक्त गरिन्। "जाडो, गर्मी र वर्षामा प्लास्टिकमुनि बस्नुपर्ने दिन अब सकिए," उनले खुसी साट्दै भनिन्।
कार्यक्रममा श्री कृष्ण युवा सेवा समाजका कार्यकारी समितिका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो। समितिमा अध्यक्ष श्रवण यादव, उपाध्यक्ष कमलेश यादव, कोषाध्यक्ष बिमलेश यादव, सचिव पप्पु कुमार यादव, सहसचिव सरोज कुमार यादव तथा सदस्यहरू वीरेन्द्र कुमार यादव, शिव चन्द्र यादव र राजन कुमार शर्मा रहनुभएको छ।
श्री कृष्ण युवा सेवा समाजका अध्यक्ष श्रवण यादवले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्य निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।


_1793530327_2.jpeg)

कमेन्ट गर्नुहोस्
view comments