तुइनखोलामा आजदेखि दैनिक १० घण्टा सवारी आवागमन प्रभावित, यात्रुलाई समय मिलाएर हिँड्न आग्रह
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र २२ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक १० घण्टा सवारीसाधनको आवागमन प्रभावित हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइनखोला परियोजनाअन्तर्गत भित्तो काट्ने तथा माटो कटानको काम अघि बढाउन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न समयमा दुई–दुई घण्टा सडक बन्द गरिनेछ। बिहान ६ देखि ८ बजेसम्म, ८ः३० देखि १०ः३० सम्म, ११ देखि दिउँसो १ बजेसम्म, १ः३० देखि ३ः३० बजेसम्म र ४ देखि साँझ ६ बजेसम्म सवारी आवागमन रोकिनेछ। बीचका आधा घण्टाका अवधिमा भने सडक खुला रहनेछ।
सडक बन्द हुने समयलाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई यात्रा योजना बनाएर मात्र हिँड्न प्रशासनले आग्रह गरेको छ। लामो दूरीका यात्रुले सम्भव भएसम्म सडक खुला रहने समयअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न, सडकमा रोकिँदा धैर्य गर्न र सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले दिएको निर्देशन पालना गर्नुपर्नेछ। मुग्लिन–काठमाडौँ सडकखण्डको कृष्णभिरमा सडक मर्मत जारी रहेकाले त्यहाँ पनि आवागमन प्रभावित रहेको प्रशासनले जनाएको छ। कृष्णभिरको मर्मत सम्पन्न भई सडक सञ्चालनमा नआएसम्म तुइनखोलामा उक्त तालिकाअनुसार सवारी आवागमन प्रभावित हुने भएकाले यात्रुले वैकल्पिक समय र आवश्यक तयारीसहित यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments