जनकपुरमा अतिक्रमण हटाउँदा साना–ठुलालाई समान व्यवहार गर्न सांसद मनिष झाको माग
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा तथा पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानमा साना र ठुला सबैलाई समान रूपमा कानुन लागू गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद झाले शनिबारदेखि जनकपुरधाममा सुरु भएको अतिक्रमण हटाउने अभियानको उल्लेख गर्दै हालसम्म सात वटा पोखरी र ६५ वटा घरटहरा हटाइएको जानकारी दिनुभयो। तर, अभियान गरिबका बस्तीमा मात्र सीमित हुने र शक्तिशाली व्यक्तिका संरचना नहटाइने हो कि भन्ने आशङ्का स्थानीयमा रहेको उहाँले बताउनुभयो।
झाले गुठी संस्थानसँगको समन्वयमा आगामी १५ दिनभित्र पोखरी मिचेर निर्माण गरिएका होटल, अस्पतालका पार्किङ तथा अन्य व्यापारिक संरचनासमेत हटाउनुपर्ने बताउनुभयो। उहाँले अतिक्रमण हटाउने अभियानमा सबैमाथि समान व्यवहार हुनुपर्नेमा जोड दिनुभयो। २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित आयोगको प्रतिवेदन उल्लेख गर्दै झाले जनकपुरधाममा करिब ९५० बिघा सार्वजनिक जग्गा दुरुपयोग तथा अतिक्रमण भएको दाबी गर्नुभयो। संघीय सरकार र प्रधानमन्त्रीले यस विषयमा देखाएको चासोप्रति धन्यवाद दिँदै उहाँले अभियान गरिबमाथि मात्र केन्द्रित नभई अतिक्रमण गर्ने सबैमाथि समान रूपमा अघि बढाउन आग्रह गर्नुभयो। झाले ९५० बिघा सार्वजनिक जग्गा संरक्षण गरी राज्यको स्वामित्वमा फिर्ता ल्याउने अभियान सफल बनाउनुपर्ने बताउँदै जनकपुरधाममा ‘सानालाई ऐन, ठुलालाई चैन’ हुने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।
कमेन्ट गर्नुहोस्
view comments