बाबुराम भट्टराईलाई हिन्दुविरोधी भन्दै भइरहेको प्रचारप्रति सचिवालयको आपत्ति

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र ८ गते ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रण गर्दै सामाजिक सञ्जालमा भ्रामक प्रचार भइरहेको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ। सोमबार ‘गम्भीर ध्यानाकर्षण पत्र’ जारी गर्दै सचिवालयले पुराना भिडिओ तथा अभिव्यक्तिलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेको जनाएको हो। भट्टराईलाई धम्कीसमेत आइरहेको भन्दै सचिवालयले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहको अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, धार्मिक तथा सामाजिक सद्भावमा असर पार्ने सामग्रीबाट सतर्क रहन आम नागरिकलाई अपिल गरिएको छ।

सचिवालयले धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध गर्नु नभएको स्पष्ट पारेको छ। धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा नागरिकलाई आफ्नो धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु रहेको उसको भनाइ छ। विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अपनाउनु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको भन्दै यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु अनुचित हुने जनाएको छ। हिन्दु धर्मभित्रको जातव्यवस्था, जातीय विभेद तथा सामाजिक असमानतामाथि प्रश्न उठाउने र सुधारका लागि बहस गर्ने विषयलाई धार्मिक घृणाका रूपमा प्रचार गर्नु तथ्यलाई तोडमरोड गर्नु भएको सचिवालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?