छोराको हत्या भएको खबर सुनेपछि आमाको पनि मृत्यु
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, भदौ ७ गते ।काठमाडौंको शंखमूलस्थित एक होस्टलमा अध्ययनरत २२ वर्षीय वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि दाङमा उनकी ३८ वर्षीया आमाको पनि मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७ का वसन्तको शुक्रबार भ्याली ब्वाइज होस्टलभित्र कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। शनिबार दिउँसो करिब ३ बजे छोराको हत्या भएको खबर सुनेलगत्तै घोराहीको हरिद्वारस्थित जनप्रिय टोलमा घरमै रहेकी आमा बिना कालाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो। प्रहरीले घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखेको छ। बिनाका श्रीमान् रोमहर्ष कालाथोकी मलेसियामा रहेकाले उहाँ नेपाल आएपछि मात्रै पोस्टमार्टम गरिने बताइएको छ।
वसन्त फ्रान्स जाने तयारीका लागि पाँच–छ महिनादेखि काठमाडौंमा बसेर भाषा तथा अन्य तयारी गरिरहेका थिए। होस्टलमै बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवले टाउको तथा घाँटीमा कुटपिट र धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ। गम्भीर घाइते वसन्तलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल, मीनभवन लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि फरार रहेका प्रमितलाई शनिबार मकवानपुरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो भने शेखरलाई यसअघि नै काठमाडौंमै पक्राउ गरिएको थियो। छोराको मृत्युको खबरले आमा बिना मानसिक रूपमा विक्षिप्त बनेको र घरमा एक्लै रहेका बेला दुःखद मृत्यु भएको वडाध्यक्ष रामलौटन चौधरीले बताउनुभयो। आमाको मृत्युपछि ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफूसँगै राख्नुभएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments