नेपाल–भारत सीमामा एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गरिने

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र १ गते ।  नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्। भारतको लखनउमा सम्पन्न नेपाल–भारत सीमा बैठकमा ‘सीमापार भोगचलन’ सम्बन्धी जग्गा उच्च प्रविधिको प्रयोग गरी नापजाँच गर्ने सहमति भएको नापी विभाग स्रोतले जनाएको छ।

स्रोतका अनुसार नापजाँचपछि तीन वर्षभित्र प्रतिवेदन तयार गरी दुवै देशका सरकारलाई बुझाइनेछ। लखनउमा नापीसँग सम्बन्धित संयुक्त बैठक बसेको थियो, जसमा नेपालका तर्फबाट नापी विभागका उपमहानिर्देशकले नेतृत्व गरेका थिए।

नेपाल–भारत सीमा निर्धारण गर्दा नदी क्षेत्रमा स्थिर सीमा सिद्धान्त अपनाइएकाले नदीको धार परिवर्तन हुँदा एक देशका नागरिकले अर्को देशतर्फ पर्ने भूभागमा खेतीपाती तथा बसोबास गर्दै आएको अवस्था रहेको बताइएको छ। नापी विभागका अनुसार सीमा निर्धारणमा ५७ वटा नदी तथा खोलानालाको प्रयोग गरिएको थियो।

सुगौली सन्धिपछि राखिएका सीमास्तम्भमध्ये केही नष्ट, बिग्रिएका वा हराएका छन्। नेपाल–भारत सीमा क्षेत्रमा हाल ५ हजार ७ सय ८५ सीमास्तम्भ रहेका छन् भने कुल ८ हजार ५ सय ५३ स्तम्भ आवश्यक पर्ने विभागको तथ्यांक छ। अझै २ हजार ७ सय ६८ सीमास्तम्भ स्थापना गर्न बाँकी रहेको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?