आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गरिँदै

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र १ गते । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। नागपञ्चमीका दिन घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने र नाग, सर्प तथा बिच्छीलगायतका जीवबाट वर्षभरि सुरक्षा मिल्ने धार्मिक विश्वास छ।

वैदिककालदेखि नागपूजाको परम्परा रहँदै आएको मानिन्छ। धार्मिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ भने पानी, वर्षा, अग्नि तथा चट्याङबाट सुरक्षा पाउन नागको पूजा गर्ने चलन छ। आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका प्रसाद चढाउने गरिन्छ। नागपञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने र नाग तथा अन्य घिस्रने जीवलाई नमार्ने परम्परा पनि छ। काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थानमा विशेष पूजाआजा गरिँदैछ। नागपञ्चमीसँगै हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको यामसमेत सुरु हुने मान्यता छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?