मुम्बईमा सात कक्षा पढेका व्यक्ति चिकित्सक बनेर उपचार गर्दै, पाँच जनामाथि कारबाही

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ३१ गते । मुम्बईको गोवन्डी, देवनार र बान्द्रा क्षेत्रमा बिना आवश्यक योग्यता तथा अनुमतिपत्र उपचार गर्दै आएका पाँच जना कथित नक्कली चिकित्सकमाथि प्रहरीले कारबाही गरेको छ। मुम्बई प्रहरीको अपराध शाखाले महानगरपालिकाका स्वास्थ्य अधिकारीसँगको सहकार्यमा गरेको कारबाहीका क्रममा केही व्यक्तिले होमियोप्याथीको योग्यता लिएर एलोप्याथिक औषधिबाट उपचार गरिरहेको र एक व्यक्ति सात कक्षासम्म मात्र पढेको खुलेको हो। प्रहरीले पाँचै जनाविरुद्ध कारबाही गरी उनीहरूका क्लिनिकमा सिलबन्दी गरेको छ। पक्राउ परेकामध्ये होमियोप्याथीमा स्नातक गरेका दुई जनालाई भने सूचना दिएर छाडिएको र आगामी दिनमा आफ्नो योग्यताअनुसार मात्रै उपचार गर्न निर्देशन दिइएको छ।

प्रहरीका अनुसार कुनै पनि आरोपित महाराष्ट्र मेडिकल काउन्सिलमा दर्ता भएका थिएनन्। कारबाहीका क्रममा १ लाख १९ हजार ३२४ रुपैयाँ बराबरका औषधि तथा स्वास्थ्य सामग्री बरामद गरिएको छ। बरामद सामग्रीमा विभिन्न प्रकारका इन्जेक्सन, सिरिन्ज, एन्टिबायोटिक, रक्तचाप जाँच्ने उपकरण, स्टेथोस्कोप, रक्तचिनी जाँच्ने उपकरण र नेबुलाइजरलगायत छन्। बान्द्रा पूर्वमा क्लिनिक सञ्चालन गर्दै आएका ५६ वर्षीय मोहम्मद आफताब शौकत खानमाथि सबैभन्दा गम्भीर आरोप लागेको प्रहरीले जनाएको छ। छापा पर्दा उनको क्लिनिकमा उपचारका लागि चार जना बिरामी प्रतीक्षारत थिए। खानले आफू १२ कक्षासम्म मात्र पढेको र कुनै चिकित्सकीय योग्यता नभएको बताएका थिए। उनले प्रस्तुत गरेका केही प्रमाणपत्रसमेत नक्कली हुनसक्ने आशंका प्रहरीले गरेको छ। घटनाबारे देवनार र निर्मल नगर प्रहरी थानामा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?