भारतका प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३१ गते । भारतका प्रधानसेनापति जनरल धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

गत जुन ३० मा भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठको पहिलो विदेश भ्रमण नेपालबाट सुरु हुन लागेको हो। नेपाल र भारतका सेना प्रमुखलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने परम्पराअनुसार यसअघि सन् २०२४ डिसेम्बरमा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गरेकी थिइन्।

बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने सेठ पहिलो उच्चस्तरीय भारतीय अधिकारी हुनेछन्। नेपाल बसाइँका क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा नेपाल–भारत सैन्य सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?