सर्वोच्चले किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न दिएन, सोमबार उपस्थित गराउन आदेश
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण २९ गते । जनआस्था साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उनलाई पक्राउसम्बन्धी सक्कल फाइल, कानुनी आधार तथा बरामद सामग्रीसहित आगामी सोमबार अदालतमा सशरीर उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो। निवेदकका कानुन व्यवसायीले तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरे पनि अदालतले पक्राउको कानुनी औचित्य र कागजात अध्ययन गर्नुपर्ने भन्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
‘जनआस्था डटकम’मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरकान्त चौधरी र एक युवतीसँग सम्बन्धित तस्बिर तथा सामग्री प्रकाशित भएपछि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरको आरोपमा प्रहरीले श्रेष्ठलाई गत बुधबार राति ललितपुरबाट नियन्त्रणमा लिएको थियो। काठमाडौँ जिल्ला अदालतले बिहीबार उनलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त पक्राउलाई गैरकानुनी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। अदालतले काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौँलाई श्रेष्ठको पक्राउसम्बन्धी सम्पूर्ण कागजात र जफत गरिएका सामग्रीसहित सोमबार उपस्थित गराउन निर्देशन दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments