पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोध, तत्काल रिहाइको माग

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण २८ गते । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाको पत्रकारिता क्षेत्र तथा विभिन्न राजनीतिक दलले विरोध गरेका छन्। श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको हो। प्रहरीका अनुसार जनआस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको झम्सीखेलस्थित कार्यालयमा छापा मारेर कम्प्युटर तथा केही कागजातसमेत नियन्त्रणमा लिएको जनाएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्ने भन्दै पत्रकार महासंघलगायत संघसंस्थाले पक्राउप्रति आपत्ति जनाएका छन्।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीले काठमाडौं प्रहरी परिसर पुगेर श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्। महासंघले प्रहरी परिसरअगाडि धर्ना दिँदै पक्राउको कारण सार्वजनिक गर्न, कानुनी प्रक्रिया पारदर्शी बनाउन तथा पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ। श्रेष्ठको पक्राउप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आपत्ति जनाएका छन्। उनीहरूले समाचार लेखेको वा प्रकाशित गरेको विषयमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी कदम भएको भन्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?