राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत, साउनदेखि १० प्रतिशत वृद्धि लागू
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण २१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले साउन ६ गते प्रस्ताव गरेको नयाँ तलबमान मन्त्रिपरिषद्ले स्वीकृत गर्दै कार्यान्वयनका लागि पठाएको हो। यससँगै कर्मचारी तथा पेन्सनधारीले साउन महिनादेखि नै बढेको सुविधा पाउने भएका छन्।
सरकारको निर्णयअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि १० प्रतिशत तलब वृद्धि गरिएको छ। यो व्यवस्था निवृत्तिभरण प्रयोजनका लागि समेत लागू हुने गरी अनुसूची–१ देखि अनुसूची–८ सम्म नयाँ तलबमान कायम गरिएको छ।
त्यसैगरी, प्रत्येक पदका लागि एक दिनको तलबबराबरको ग्रेड रकम निर्धारण गरिएको छ। कर्मचारीहरूले १० प्रतिशत प्रोत्साहन भत्तासमेत पाउने व्यवस्था गरिएको सरकारले जनाएको छ।
यस्तै, पेन्सनधारीहरूको मासिक पेन्सन रकममा पनि १० प्रतिशत वृद्धि गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरेको तलब तथा पेन्सन वृद्धि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब साउनदेखि नै कार्यान्वयनमा आउने भएको छ।
कमेन्ट गर्नुहोस्
view comments