विषालु जङ्गली च्याउ खाँदा बाजुरामा एक जनाको मृत्यु, श्रीमती गम्भीर
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण १९ गते । बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उहाँकी श्रीमती गम्भीर बिरामी हुनुभएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहनुभएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोमबार दिउँसो करिब ४ बजे रामे थापा र उहाँकी ५० वर्षीया श्रीमती नामसरी थापाले जङ्गली च्याउ खाएपछि बिरामी पर्नुभएको थियो। दुवै जनालाई राति करिब ११ बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको थियो।
प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार अस्पतालमा चिकित्सकले परीक्षण गर्दा रामे थापालाई मृत घोषणा गरेका थिए। नामसरी थापाको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल बाजुरामै उपचार भइरहेको छ। मृतक थापाको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments