सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, तीन जना बेपत्ता

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण १८ गते ।  सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार भएको सवारी दुर्घटनामा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको कारलाई ठक्कर दिएपछि कार सडकबाट करिब ५० फिट तल नदीमा खसेको हो ।

दुर्घटनामा सिन्धुपाल्चोकका अन्दाजी ३९ वर्षीय कार चालक दिलकुमार लामा, सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ निवासी धुर्व थापाका अन्दाजी २७–२८ वर्षीय छोरा गणेश थापा र परिचय खुल्न बाँकी एक जना हेल्पर बेपत्ता भएका छन् । उक्त कार सडक विभागअन्तर्गत यान्त्रिक कार्यालय मुल्कोटले मध्यपहाडी लोकमार्गमा प्रयोग गर्दै आएको भए पनि नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बेपत्ता तीनै जनाको खोजीका लागि नेपाल प्रहरीसहित उद्धार टोली परिचालन गरिएको छ । बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?