कलाकारहरूको नाम दुरूपयोग गर्दै ठगी बढ्दो, केकी, स्वस्तिमा र आकाशले गरे सचेतना अपिल
1 दिन पहिले प्रकाशित
काठमाडौं, पुष १० गते । पछिल्लो समय चर्चित कलाकारहरूको नाम र तस्बिर दुरूपयोग गरी ठगी गर्ने घटनाहरू बढ्दै गएका छन् । अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का र अभिनेता आकाश श्रेष्ठले ह्वाट्स एप र भाइबरमार्फत आफ्नो नाम प्रयोग गरी पैसा मागिएको भन्दै गुनासो सार्वजनिक गरेका छन् । कलाकारहरूले सामाजिक सञ्जालमा च्याटका स्क्रिनसटसहित पोस्ट गर्दै यस्ता सन्देशहरू पूर्ण रूपमा नक्कली भएको स्पष्ट पारेका छन् ।
स्वस्तिमा खड्काले आफ्नो नाम प्रयोग गरी साथीभाइसँग पैसा मागिएको भेटिएको उल्लेख गर्दै यस्ता म्यासेजमा नझुक्किन आग्रह गरेकी छिन् । त्यस्तै, केकी अधिकारीले पनि आफ्नो नाम र तस्बिर दुरूपयोग गरी आर्थिक सहयोग मागिएको जानकारी आएको बताउँदै यो कानुनी रूपमा दण्डनीय कार्य भएको उल्लेख गरेकी छन् । अभिनेता आकाश श्रेष्ठले समेत आफ्नो नाम प्रयोग गरी आर्थिक सहयोग मागिएको भन्दै कुनै प्रतिक्रिया नदिन र सतर्क रहन अनुरोध गरेका छन् । कलाकारहरूले प्रविधिको दुरूपयोगबाट हुने यस्ता ठगीप्रति सबैलाई सचेत रहन अपिल गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments